दफा २९
औषधिको मूल्य, प्रेस्क्रिप्सन, फार्मेसि र निशुल्क औषधि सम्बन्धी व्यवस्था
: (१) चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले औषधि सिफारिस गर्नु पर्दा जेनेरिक नाम लेख्नु पर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि गुणस्तरीय स्वदेशी उत्पादनको हकमा यो दफा प्रारम्भ भएको मितिले दुई वर्ष भित्र उपदफा (१) बमोजिम हुनेगरी कार्य गर्नुपर्नेछ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पेटेन्ट र नयाँ औषधिको हकमा ब्राण्ड नाममा सिफारिस गर्न बाधा पर्ने छैन।
(४) प्रत्येक सरकारी अस्पतालहरूले आफ्नै फार्मेसी सञ्चालन गरी सुपथ मूल्यमा औषधिहरूको नियमित उपलब्धता सुनिश्चित गर्नु पर्नेछ।
(५) औषधिको मूल्य निर्धारण नेपाल सरकारले तोके बमोजिम हुनेछ।
(६) प्रत्येक स्वास्थ्य संस्था तथा सेवा प्रदायकले औषधिको समुचित प्रयोग तथा प्रवर्धन गर्ने गरी स्तरीय उपचार पद्धतिको पालना गर्नु पर्नेछ।
(७) औषधि बिक्रेताले औषधिको तोकिए बमोजिमको गुणस्तर कायम रहने गरी भण्डारण तथा बिक्री वितरण गर्नको लागि आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
(८) औषधि बिक्रेताले चिकित्सकको सिफारिस विना कुनै पनि औषधि बिक्री वितरण गर्न पाउने छैन।
(९) औषधि सम्बन्धी अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ।